यु.ए.ई.मा आगो बाले गजलकारहरुले गजल मार्फत

युएई, जेठ २६ – दुवईमा नेपाली सर्जकहरु जुट्न थालेका छन् । खाडी मुलुकमा नेपाली साहित्यको खेती युएईमै हुने गरेको भएपनि पछिल्ला केहिवर्ष देखि साहित्यिक बारीमा फल नफलेको भन्दै नेपाली साहित्यमा मलजल गर्न सर्जक आफै लागेका हुन् । कार्यक्रमको चाँजोपाजो पनि सर्जक आफैंले आपसमा मिलेर गरेका थिए । तिनै मध्येका एक जोसिला युवा जे सागरले आफ्नो गजलमा भन्दै थिए :
एउटा कुरा भन्नु थियो ध्यान दिनुहोला
दोहोर्‌‌‌याइदैन जे भनियो ध्यान दिनुहोला
पैसा फल्ने बोट छैन बा यता पनि
घरको खर्च आकाशियो ध्यान दिनुहोला ।
दुई दर्जन श्रष्टाको उपस्थितीमा सर्जकले दुई दुई वटा सामाग्री प्रस्तुत गरेका थिए । इश्वर च्याङ्बा गजलको शेर वाचन गर्दै गर्दा उपस्थितले वाह वाह भन्दै साथ दिइरहेका थिए ।
आशु पिउँदै घरछोडी हिंडेको चोला कस्को हो
विमानस्थलमा झोक्राइ रहेको झोला कस्को हो ?

सेल्कर पाख्रिन तामाङको गजलको शेरले राजनीतिक तथा व्यवहारिक मतभेतका कुरा औंल्याएको थियो ।
कोदाली र हँसियाको विश्राम देखिएन
देखिएन बाआमालाई आराम देखिएन
रोजीरोटीका लागि परदेशिएका श्रष्टाहरुले देशप्रेमका भावले ओतप्रोत शब्द भएका गजल वाचन गरेका थिए । कतिपयले गायनसँगै श्रृङ्गारिक गजल समेत प्रस्तुत गरेका थिए । तनहुँबाट यूएई आएर पसिना साटिरहेका सर्जक अथाह सागर तिर्थमानले कला र गलाको कुरा यसरी पोखे । 
केही कुरा ढाट्न पनि कला चाहिन्छ
मन मुटु साट्न पनि कला चाहिन्छ
तिम्रै कपाल बाट्न पनि कला चाहिन्छ ।
दुई दर्जन पुरुष श्रष्ट्राबिच एकमात्र महिलाको रुपमा उपस्थित रितु चन्द्री रोकाले भने श्रृङ्गारिक भावको गजल सुनाइन् । नेपाललाई छिमेकी भारतले देखाएको हेपाहा प्रवृत्तिबारे डिबी भण्डारी कस्मिर र कार्गिलमा आफ्नै मान्छे भएकोले डराउनु नपर्ने बताउँदै हुनुहुन्थ्यो ।
यो मुटुमा यो डिलमा आफ्नै मान्छे छन
अनि यी आँखामा डिलमा आफ्नै मान्छे छन,
अरे किन डराउनु यार हामी छिमेकीसँग  
कस्मिरमा काग्र्रिलमा आफ्नै मान्छे छन् ।
देशमा केही गर्न नसक्नेले विदेशमा बसेर देशप्रेमका हावा गफ गर्ने आरोप लाग्दै आएको छ । तर ज्यान परदेशमा भएपनि सबैको मन भने घरदेशमै भएको उनीहरुले वाचन गरेका रचनामा प्रष्ट झल्किन्थ्यो । सर्जकहरु आफ्नै शब्दमार्फत नेपाल फर्किने मन प्रस्ट्याउँदै थिए । नवराज क्षितिजको यो शेरले त्यस्तै भन्दै थियो ।
साँच्चि मलाई मेरै देश फर्कन मन छ
आफ्नै गाउँठाउ परिवेश फर्कन मन छ
दौरा सुरवाल र पाल्पाली ढाका टोपी
लगाएर आफ्नै भेषमा फर्कन मन छ ।
नेपाली गजल विधाका अग्रणी टंक गुरुङ र पछिल्लो पुस्ताका सक्रिय जे सागर, सुरेशप्रसाद अर्याल ‘कान्छो’, टपन जिएम, प्रमोद निषाद, इन्धन डिबि भण्डारी, अमन एकल, राजीव जीसी, कृष्ण विश्वकर्मा, नवराज क्षितिज, अथाहमान सागर, ईश्वर च्याङ्बा, सेल्कर पाख्रिन तामाङ, किरण चापगाईं, लक्ष्मण कुँवर, रितु सन्धी रोका, शिव चालिसेलगायतको सक्रियतामा कार्यक्रम भएको हो ।

२५ भन्दा बढि सर्जकले दुई महिनामा दोस्रो महिनाको पहिलो शुक्रबार युएईका अलगअलग स्थानमा जम्मा भएर आफ्ना रचना वाचन गर्ने वाचा गर्दै कार्यक्रमको बिट मारे




Previous
Next Post »

Share our page.