"म जोसुकैसंग सुतुँ , मेरो नितान्त व्यक्तिगत मामला हो"

मूर्ख मानिसहरुले थाहा छैन कस्ता कस्ता खालका कुरा गर्छन् । यिनीहरुको कुराहरुमाथि चासो दिनु हुँदैन । म पनि दिन्नँ । यदि मैले यिनका कुरामाथि चासो दिएँ भने यिनीहरुको मुखमा जति व्याक्टेरियाहरु टाँसिएका छन् ती सबै मेरा कानसम्म पुगेर सुन्ने शक्ति खियाइदिने छन् । तर हरेक कुराको एउटा सीमा हुन्छ । यी दुर्मुख मानिस सीमा पार गर्दै गइरहेका छन् । यता धेरै दिनदेखि म राम्रो लेख्छु भन्ने कुरामाथि गौरब गरिरहेकी छु ।

यसमा कसैलाइ कुनै गुनासो छैन । गुनासो छ भने मेरो व्यक्तिगत जीवनलाइ लिएर । यसभन्दा बाहेक पनि जुन मानिसहरु मेरो लेखन रुचाउदैनन्,उनीहरु जब मेरो लेखनलाई रुचाउने मानिसहरुसँग बहसमा उत्रन्छन् तब एउटै प्रश्न बार–बार दोहोराइने गरिन्छ–मैले एकभन्दा अधिक विवाह किन गरें ?(विवाहको संख्यालाइ लिएर मानिसहरुमा थरि थरिका मतभेद पनि छन् । कसैले भन्छन,तीन ! कसैले चार ! कसैले पाँच र कसै कसैले त सात वटा विवाहसमेत !) मेरो कति विवाह भयो र मेरा पूर्व श्रीमानको नाम के हो,यस कुरालाई लिएर मानिसहरुमा उत्साहको सीमा छैन ।

जुन मानिसहरुले मेरो साहित्यको एक अक्षर पनि पढेका छैनन,उनीहरु पनि लोक मुखबाट सुनेका मेरा पूर्व श्रीमानको नाम आफ्नो मुखमा राख्छन् । लोक मुखबाट सुनेको कुरा मैले यसकारण निकालेँ किनकि कुनै दिन,कतै पनि मैले कोसँग विवाह गरें भनेर भनेकी छैन । लेखेकी पनि छैन । जुन मानिसहरुले मेरा नाम मेरा श्रीमानको लिष्टमा सामेल गरेका छन , उनिहरु के साँच्चै मेरा श्रीमान थिए ? उनीहरुको साथमा के म कहिल्यै पनि रहेकी सहेकी छु ? को थिए मेरा श्रीमान ? म कस–कसको साथमा श्रीमानको रुपमा बसेकी छु ? यसको उत्तर मात्र मलाइ थाहा छ ।

मेरो लेखनमा दिमाग खपत गर्नुको सट्टा मानिसहरु मेरो विवाहको बारेमा दिमाग खपत गर्छन् । तर विवाह नितान्त मेरो निजी मामला हो । कहिले,कोसँग मेरो के सम्बन्ध थियो ? उक्त सम्बन्ध कहाँ पुगेर समाप्त भयो ? त्यो मात्रै मलाइ थाहा छ । मभन्दा बाहेक अरु यी सब कुरामा जान्ने क्षमता कसैमा छ ? तर पत्रिकाहरुको हाउभाउ देखेर यस्तो लाग्छ मानौ उनीहरुलाइ नै मेरो बारेमा मभन्दा बढी थाहा छ । यस्ता मानिसको नाम मेरो श्रीमानको रुपमा प्रचारित गरिन्छ,जसलाइ म चिन्दा पनि चिन्दिनँ ।

म प्राय  सोच्ने गर्छु,यी सबको कारण के हो ? मानिसहरुलाइ म कसको साथमा घुम्छु–हिँड्छु भन्ने कुरामा यति धेरै जिज्ञासा किन हुन्छ ? म कसको साथमा सुतेकी छु ? म चाहे जोसुकैको साथमा सुतुँ ,चाहे उ मेरो विवाहित श्रीमान होस् या जससँग मेरो विवाह नै नभएको होस् । यो मेरो नितान्त शारिरिक मामला हो । जहाँसम्म मेरो जानकारी छ,शारिरिक मामला नितान्त निजी हुन्छ । व्यक्तिगत ! मानिसले एक – अर्कासँग पे्रम गर्छ,सम्वन्ध बनाउँछ । यो मानिसको अन्तर्गत नियम हो । तर यसमा बिचार गर्नुपर्ने कुरा भनेको एउटै हुन्छ । कसैले कसैको नोक्सान त पुराइरहेको छैन ? मलाई थाहा छ मेरा धेरै नजिकका मानिसहरुलाई पनि थाहा छ । मैले कहिल्यै कसैको नोक्सान गरेकी छैन । बरु श्रीमानको क्रममा जुन जुन नाम मेरो नामको छेउमा दर्ता छन्,उनीहरुले नै कैँयौ कैँयौ तरिकाबाट मेरो नोक्सान गरिरहे !मेरो अपमान गरेका छन ।

तर म आफुलाइ अपमानित हुन दिन चाहँन्न । मैले ति सम्वन्ध तोड्नुपर्यो । त्यसो त अन्य छिमेकी नातेदारका कुराबाट के प्रकट हुन्छ भने यदि कसैसँग मेरो सम्वन्ध विच्छेद नभएको थियो भने उनीहरु खुशी हुने थिए । अर्थात म यदि बेइज्जत हुँदै हुँदै थोरै थोरै गर्दै मरेकी थिएँ भने उनीहरुलाइ ती महिला धेरै चरित्रवान थिइन् भन्ने मौका मिल्ने थियो । मलाई थाहा छ ,पुरुष अन्यायको अगाडि यदि मैले आफ्नो बल दिएकी थिएँ भने सबै मानिसले मलाइ ‘लक्ष्मीजस्ती महिला’ भन्ने थिए । तर म आफ्नै हत्या गरेर यस्ता तमाम मानिसलाई खुशी गराउन राजी छैन ।
मलाई कुनै फरक पर्दैन । मेरा श्रीमानको नाममा जुन जुन मानिसका नाम प्रचारित हुन्छन्,तिनीहरमध्ये म कसैकसैलाइ मात्र चिन्छु । तर के पनि सत्य हो भने जस–जसलाई चिन्छु,उनीहरुसँग मेरो मानसिक र शारीरिक दुरी सँधै कायम थियो । मेरो जस जससँग अन्तरंग सम्वन्ध रहेको छ उनीहरुको नाम अहिलेसम्म प्रचारकहरुको अशुभ हातमा परेको छैन । यो शायद मेरै विजय हो ।

यस्ता खालका प्रचारक स्वरचित तरिकाबाट सुँगुर जस्तै घुँक-घुँक गर्छन,गरिरहुन । तर अव उनिहरुको घुँक –घुँक आवाज यति विकट भइसकेको छ जसबाट मलाइ के आशंका हुन्छ भने यस समाजमा महिलाहरुले के कहिल्यै पनि मनुश्यताको अधिकारको साथमा बाँचिरहन सक्नेछन ? कट्टरवादीहरु मेरो नामोनिशान मेटाउन चाहन्छन् । म ती मानिसको कु–प्रचार र अपमानबाट रौमात्रै पनि डराउनेवाला छैन । मनुश्यको मंगलका लागि यदि मैले केहि गरें, महिलाहरुको वोधो दिमागलाई यदि थोरै पनि तीखो ,प्रतिवादी बनाउन सकें भने मात्रै मभित्रको आगो कम हुनेछ । यस भ्रष्ट समाजमा महिलाहरुले शोक सहेर पनि अरुको राम्रो गर्न सकुन यही मेरा लागि सुन्दर कुरा हो । तमाम समस्याहरु आफ्नो शिरमा लिएर अरुलाइ निश्चन्त गर्न सकुँ ।

आफु बदनामी र अशुभ झेल्नेछु तर अरुलाई सारा शुभ दिनको लागि म राजी छु । मेरा गुच्छा –गुच्छा समस्यामाथि आज मानिसहरु खुशी मनाइरहेका छन् । पत्रिकाहरुले यस्ता कुरालाई लिएर आफ्नो धन्दा चलाइरहेका छन् । जसले गर्दा म जलेर अँगार भएकी छु । अब मलाई छोएर कोही पनि अँगार बन्न सक्छन् । म महिलाहरुको खुट्टामुनिको जमीन बन्नेछु । जसले गर्दा उनीहरुले उभिन, चल्न र अगाडि बढ्न सिकुन ।
 तसलीमा नसरीनको ‘ह्दयको बारुदबाट’
साभार - नेपालपाटी
Previous
Next Post »

Share our page.