केटि हेर्न जाँदा

सुमन पोख्रेल 

  • सुमन पोख्रेल 

एकाबिहानै आँखा खुल्ने बित्तिकै फेसबुक स्क्रोल गर्‍यो टाइमलाइन भरि सबै साथीभाइहरुको बिहेका फोटा,कसैका टिकोटालोका फोटा, कसैका त छोराछोरीका फोटा! सबैका फोटामा ‘लाइक’ र ‘कङ्ग्र्याट्स’, ‘नाइस कपल’ लेखेर कमेन्ट गर्दागर्दै म हैरान भैसकेको थिएँ। आफूले त्यस्तै फोटो अपलोड गरेर सबैलाइ पैँचो तिर्ने दिन कहिले आउला भनेर सोच्थेँ।


आँटिहालम् भने पनि उमेर तिस भए पनि सबै स्त्रीलाइ सिस र मिसको नजरले हेर्ने बानीले कुनै गर्लफ्रेन्ड थिएनन्। कपाल झरेर निधार तालुसम्म पुगेको देख्दा भावीले निधारमा मेरो लागि लामै कथा लेखेकी छिन् जस्तो लाग्थ्यो।

साथीहरु लगभग सबैको बिहे भइसकेको थियो, कसैका त छोराछोरी पनि भैसकेका थिए। मलाइ पनि बिहे गर्न ठूलै प्रेसर थियो। मानौं घरबाट नाकाबन्दि नै लगाएका थिए। 
बाआमा सँधै ठुस्केर बोल्थे। प्रेसर थाम्न नसकेर म पहिले ३ पटक नेपाल आउँदा ३वटी केटी हेरिसकेको थिएँ। त्यतिबेला मेरो बिहे गर्ने मनसा़य पनि थिएन। जाबो सुपरमार्केटको जागिरले आफ्नै रोजीरोटी धान्न धौ-धौ थियो। त्यैमाथि घरपरिवार पनि हेर्नुपर्ने। तर यसपाली म कस्सिएर आएको थिएँ। अब त मेरो जागिरमा प्रोमोसन पनि भइसकेको थियो। राम्रो आम्दानी थियो। यसपाली विदेशबाट घर फर्किँदा दुइ सुटकेट सामान र ह्यान्डक्यारी भरि कन्फिडेन्स लिएर एयरपोर्टमा ओर्लिएको थिएँ।

विदेशको व्यस्त लाइफबाट टाढा एक बिहान म आफ्नो टिभि कोठामा उपरखुट्टि लगाएर टिभि हेर्दै थिएँ। बुवा आउनुभयो र छोरा भनेर बोलाउनुभयो। सँधै गोथे भनेर बोलाउने बा ले आज छोरा भनेर बोलाएको सुन्दा कान पवित्र भयो। आजबाट एउटा युगको अन्त्य भएजस्तो लाग्यो।


'एउटी केटीको कुरा आएको छ, राम्रो घरपरिवार छ रे, केटी पनि राम्री र सुशील छ अरे। ल बेलुका अंकल सँग केटी हेर्न जानू! तँलाइ मन परे म पछि हात माग्न जान्छु,' बुवाले भन्नुभयो।

आब्बुइ! ज्यान सिरिङ्ग भयो। कुरा गम्भिर रैछ।


'राम्री केटी? के गर्छिन् रे त उनी आजकल?,'मैले सोधेँ।


“ब्याकपेपरको भर्खर रिजल्ट आयो रे। जागिर खोज्दै छिन् रे अनि आर्को वर्ष M.A जोइन गर्छिन् रे!,' बुवाले भन्नुभयो।


'एकदुईटा ब्याक पेपर पनि नभए के ब्याचलर पढाइ भो’र। लाग्न त मलाइ पनि दुई गोली लागेको थियो नि!,' मैले मजाक गरेँ।


गम्भिर मुद्रामा मैले भनेँ, 'जे भए पनि विहे पछि पनि उनलाइ पढाइ र करियरमा कुनै रोकटोक हुनुहुँदैन!'

'५ वर्ष विदेशमा बस्न पाछैन ठूला कुरा गर्ने भइस् हैन?' बुवाले भन्नुभो।


आमामा ढोकामा बसेर बुवा छोराको सबै कुरा सुनिराख्नुभएको रैछ।

'आजकलका बुहारी घरको चुलोचौको गरेर बस्लान भनेर कस्ले पो आस गरेको छ र!' आमाले थप्नुभयो।

जे भए पनि मेरो कुरामा आमाबुवाको अप्रत्यक्ष मौन सहमति थियो। र यो कुरा आमाबुवालाई बुझाउन सक्नेमा म कन्फिडेन्ट थिएँ।


'अनि केटी बिहे गर्न त तयार छिन् नि। मलाइ जस्तै घरबाट प्रेसर आएर त हैन नि,' मैले सोधेँ।

'यति बूढो भइसक्यो अँझै हाम्ले प्रेसर दिएको भन्छ। हेर्नु न बूढा!' बुवा तिर फर्केर आमाले भन्नुभयो।

'नाइनास्ति भएको भए त किन बिहेको कुरा चलाउँथे होला र!' बुवाले भन्नुभो।

'हेर त दाह्री पालेर चोर जस्तो देखिया’छ। केटी हेर्न जाने मान्छे दाह्री काटेर चट्ट हुन पर्दैन,' आमाले भन्नुभयो।

'म नै किन जानुपर्यो। मलाइ हेर्न उनी आए हुँदैन। उनी आए पनि म गए पनि एउटै कुरा त हो नि। जसरी पनि एक-अर्कालाइ देख्ने कुरा न हो!' मैले भनेँ।


आमाबुवाले एकै स्वरमा गोथे~ भन्नुभयो। मेरो कुरा मजाकको रुपमा लिनुभएछ सायद।

'१२-२७ कुरा नगरि छिटो तयार हो। केटो कहिले आउँछ भनेर बाटो हेर्दाहेर्है राम्री केटीको आँखा थाकिसक्यो होला!' आमाले भन्नुभयो।


मनमा एक्साइटमेन्ट छचल्किरहेको थियो। दाह्री र दुर्लभ कपाल फडानी गर्दा काँचुली फेरे जस्तो भयो। टाउको नै हलुका भयो। चट्ट परेर रेमन्डको कोट र शिखर शूज लगाएर अंकल सँग केटी हेर्न हिँडियो। पहिले ३ पटक केटी हेरेको अनुभव भए पनि यो सन्दर्भ फरक थियो… पहिले मन नलागि नलागि बाआमाको करले सहभागिता जनाउन मात्र गइन्थ्यो भने यसपाली त ट्रफि नै जितेर ल्याउनु थियो। म नर्भस थिएँ!


साँझपख केटीको अन्टिको घर पुगियो। औँषीको साँझ त्यैमाथि लोडसेडिङ। जुत्ता फुकालेर छामछामछुमछुम गर्दै बैठक कोठमा पुगियो र एकछिन उनको घरपरिवारले केरकार गर्न थाले। मेरो आँखा भने राम्री केटीको दर्सन पाउन तिर्खाएका थिए।


'नानी भित्र छे। जानुस् न त बाबु एकछिन भेटेर कुरा गर्नुस्,' उनको आन्टिले भन्नुभयो।


जानु त पर्यो तर एकदम नर्भस थिएँ। मेरो नर्भसनेस पनि नोकिया ११००को चार्ज जस्तै घट्ने नाम नै लिएको थिएन।


भित्र कोठामा जाँदा ढोकामा खुट्टा ठोक्कियो… मेरो कन्फिडेन्स नेप्से परिशूचक जस्तै झन् घोप्टे पर्यो। चुक अमिलो जस्तै अँध्यारो कोठामा मैनबत्ती बालिएको थियो र उनी मैनबत्तीको छेउमा थिइन्। मैनबत्ती भन्दा उनको अनुहार चहकिलो बलेको थियो।


बोल्न सुरु गर्ने मलाइ आँट आएन। म मुस्कुराइरहेँ!


अकस्मात् मौनता चिर्दै 'केटी हेर्न आएको यो कतिओँ पल्ट हो?' उनले सोधिन्।

म ट्वाँ परेँ। मैले त्यस्तो प्रश्नको अपेक्षा गरेको थिइन।


उनको लेजर जस्तो आँखा मेरै अनुहारमा तेर्सिएको थियो र मैले नढाँटी 'चौँथो पल्ट हो, अनि तिम्रो?' भनेर सोधेँ।

उनको कन्फिडेन्स देखेर उनलाइ केटा हेर्न आएको पहिलो पटक हो जस्तो लागेन।


तर उनले उत्तर दिइन्, 'मेरो त पहिलोपल्ट हो, मैले के के बोल्ने भनेर तयारी गरेको छैन।'

मैले चौँथोपल्ट हो भन्दा पक्का पनि मेरो बारेमा उनलाइ नकारात्मक विचार आए होलान्। तर के कारणले मैले पहिले ३पटक बिहे गरिन भन्ने कुरा स्पष्ट पार्न पाए मेरो प्रतिको उनको धारणा बदलिन्थ्यो कि भन्ने लाग्यो। तर कुरा स्पष्ट पार्न प्रसङ्ग मिलेन।


फेरी कोठा मौनतामा डुब्यो। अब बोल्ने पालो मेरो थियो। के कुरा गरुम्? राती मासा मौषम् कति राम्रो है भनेर कुरा सुरु गर्न पनि मिलेन।



जे पर्ला पर्ला भनेर 'तिम्रो नाम के हो? भन्न त भनेका थिए मलाइ यादै भएन,' मैले सोधेँ।

साधारणतया, म कुनै स्त्रिलाइ पहिलोपटक संवोधन गर्दा ‘तिमी’ भनेर सम्बोधन गर्थिन। तर म यति हडबडाएको थिएँ कि मेरो मुखबाट तिमी फुत्कियो। सुरुमै तिमी भनेर सम्बोधन गर्दा उनलाइ पक्कै पनि राम्रो लागेन होला।

नाम त मलाइ कसैले भनेको थिएन। बुवाले राम्री केटी र उनकै घरकाले नानी भनेर बोलाएको मात्र सुनेको थिएँ।

'दृढता मेरो नाम हो,' उनले जवाफ फर्काइन्, 'मान्छे पनि त्यस्तै छु।'

उनको प्रश्न र उत्तरको प्रकृति हेरेर 'दाल मै कुछ काला हैँ' जस्तो लाग्यो।

'तिमीलाइ कसैले कर गरेको त हैन यहाँ आउन?' मैले सोधेँ।


म बच्चैबाट समझदार मान्छे। आफ्नो समझ्दारी देखाउन मैले कुनै कसर बाँकी राखिन।
'म कसैको दबाबमा पर्ने केटी हैन,' उनले भनिन्।


उनको उत्तरको प्रकृति हेर्दा केही गरि उनीसँग बिहे भए जिन्दगीभर म दबाबमा पर्ने निश्चित थियो।

उनले थपिन्, 'मलाइ आज बिहान मात्रै कुरा गर्नुभएको थियो बुवाले।

मलाई पनि बुवाले बिहान मात्र कुरा गर्नुभएको थियो।

उनी मेरो नाम जान्न चाहिनन्। तर सायद मेरो फराकिलो निधार देखेर मलाइ 'हजुको उमेर कति भयो?' उनले सोधिन्।

'३०' मैले भनेँ।


मेरो उमेर २८ भनेर अरुले उनलाइ ढाँटेका रैछन्।

केटीलाइ उमेर सोध्न हुँदैन भन्छन्। तर मौको फाइदा उठाएर मैले पनि उनलाइ उनको उमेर सोधेँ।

'२४,' उनले भनिन्। तर बुवाले मलाइ २२ भन्नुभएको थियो।
'विदेशमा के गर्नुहुन्छ?,' उनले सोधिन्।

'सुपरमार्केटमा काम गर्छु,' मैले भनेँ।

मैले आफ्नो उत्तर सक्न नपाइकन उनले फेरी प्रश्न गरिन्, 'पढ्नु पनि भएको हो?'

'म एमए सरहको कोर्ष गर्छु तर यहाँ त्यसको मान्यता हुँदैन त्यसैले म विए पास मात्रै हुँ!,' मैले जवाफ फर्काएँ।

मैले कुनै पनि कुरा नढाँटी साँचो साँचो कुरा बताएँ। मलाइ झुटको जगमा सम्बन्धको महल खडा गर्नु थिएन।
'आउटअफ कोर्स पढ्ने बानी छ कि छैन नि? लास्ट किताब कुन पढ्नुभएको थियो?' उनले सोधिन्।

'आउटअफ कोर्स किताब खासै पढ्दिन। मलाइ व्यवसाय तिरै रुची भएको कारण यसै सम्बन्धी किताबहरु पढ्छु। को लागि उपन्यासहरु पढ्ने फुर्सद हुँदैन। मलाइ उपन्यास पढ्न भन्दा उपन्यासमा आधारित भएको मुभिहरु हेर्न ठिक लाग्छ,' मैले केहि नढाँटी सत्य सत्य बताएँ।


'नेपाल फर्केर केही गर्ने हो या विदेश मै बस्ने हो तपाइँ?' भनेर प्रश्न गरिन्।

मैले के उत्तर दिएँ याद भएन।

उनी प्रश्न माथि प्रश्नको बाँड हान्दै थिइन। उनको प्रश्नको सिलसिला तोड्न मैले पनि प्रश्न गरेँ, 'तिमी के गर्छौ?'

'अहिलेसम्म म केही गर्दिन। भरखर ब्याकपेपरको रिजल्ट आयो, यहि वर्ष एमएपढ्न पाइन्न अरे। कलेज छैन, साथीभाइसँग डुल्यो, घुम्यो पूरै आवारा ताल छ। पछि के गर्ने सोचेको छैन,' उनले भनिन्।

उनको अहिलेसम्मको व्यवहार र यस्तो उत्तर सुनेपछि मैले उनीसँगको भविष्य अन्धकार देख्न थालेँ। ट्रफि जितेर जाने मेरो आँफैसँगको कमिटमेन्ट प्रतियोगिताबाटै बाहिरिने मनसायमा परिणत भयो। म कमिटमेन्ट गरेपछि आफ्नै कुरा नसुन्नलाइ सलमान खान पनि थिइन।


उनलाइ म सँग सम्बन्ध जोड्ने मनसाय नभएको  पनि स्पष्ट थियो।

उनले आफ्नो विहेमा कन्यादान नहुने सङ्कल्प गरेको बताइन्।

मलाइ उनको सङ्कल्पसँग कुनै समस्या थिएन।  छोरी मान्छे दान गर्ने चिज हो भन्ने कुरा म पनि मान्थिन।
'यस्ता यस्ता पहिलै चलिआएका परम्परा इरेजरले मेटे जसरी मेट्न सकिँदैन। यसलाइ बिस्तारै सुधार्दै लैजानुपर्छ' मैले भनेँ।


सायद उनलाइ सम्बन्ध गाँस्न मन नै नभएर मसँग कहिलै सिधा कुरा गरिनन्।

यत्तिकैमा ढोकामा ढकढक गरेको आवाज आयो।

'अब जाने?' मैले भनेँ।
उनी उठ्न खोजिन्।
'बाहिर गएर के भन्ने? आजे निर्णय दिने या नदिने?' उठ्दाउठ्दै मैले भनेँ, 'म सात-आठ दिन मात्रै नेपाल बस्ने हो!'


'केहि नभन्ने। म त बुबासँग मात्रै कुरा गर्छु अब,' भन्दै उनी निस्किइन।

मलाइ पनि सजिलो भयो। रिजेक्ट गरेर उनको घरपरिवारको चित्त दुखाउन मन थिएन। सायद उनलाइ पनि मेरो चित्त दुखाउन मन थिएन। तर भित्रभित्रै हामीलाइ एकअर्काको निर्णय थाहा थियो।

घर फर्किँदै गर्दा मैले अंकललाइ भनेँ, 'म उनीसँग बिहे गर्दिन।'

घर पुग्ने बित्तिकै बुवाले सोध्नुभयो, 'केटी कस्तो लाग्यो?'

'मान्छे त राम्री थिइन्, मैनबत्ती भन्दा उजेली। समझ्दार र ज्ञानी पनि रहिछिन्। तर मलाइ चाहिँ हुन्न। केटी ठाडो ठाडो बोल्ने ठडेरी रहिछ। कुरै नमिल्ने!' मैले भनेँ।


'हो र। ल ठिकै छ! अर्की केटीको कुरा पनि आको छ! भोली हेर्न जा,'बुवाले भन्नुभो।

'जान्न म। घरघरै केटी हेर्दै। म आँफै खोज्छु,' मैले भनेँ।


बुवाले हाँस्दै भन्नुभयो, 'खोज्छस् खुबै आँफै… गोथे!'
मेरो हाँसो घाँटिसम्म आएर रोकियो। 

साभार - सेतोपाटी
Previous
Next Post »

Share our page.